म्याग्दी– निर्माण सुरु भएको करिब डेढ दशकपछि म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले परीक्षण अवधि पूरा गरी व्यावसायिक उत्पादन थालेको हो।
सुरुमा ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना विभिन्न प्राविधिक, आर्थिक तथा प्राकृतिक समस्याका कारण लामो समयदेखि अलपत्र पर्दै आएको थियो। ठेकेदारको कमजोर आर्थिक अवस्था, ठेक्का रद्द, आयोजना पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो र निर्माण सामग्री अभावले आयोजना सम्पन्न हुन ढिलाइ भएको हो।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आयोजनाको परीक्षण अवधि पूरा भएपछि व्यावसायिक उत्पादन सुरु गरिएको हो। उनका अनुसार रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह परिसरमा असोज ११ गते कालीगण्डकी नदीको बाढीले कटान गरी क्षति पुर्याएपछि असोज ६ गतेदेखि सुरु गरिएको परीक्षण अवधि लम्बिएको थियो।
प्राकृतिक विपत्ति, कोभिड–१९ महामारी, भन्सार प्रक्रियामा देखिएको समस्या, अन्तर्राष्ट्रिय युद्धको प्रभाव तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खननमा लगाइएको रोकले पनि निर्माण प्रभावित भएको केसीले बताए।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा आयोजनाको बाँध निर्माण गरिएको छ। आयोजनामा ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने पोखरी छन्। कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक नजिकै वडा नं ३ को तिल्केनीचौरमा विद्युत्गृह निर्माण गरिएको छ।
आयोजना प्रमुख राजबहादुर विष्टका अनुसार तिल्केनीचौरदेखि घुमाउनेताल, पिप्ले, मौवाफाँट र बुग्ल हुँदै बाँधस्थलसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ। राहुघाट नदीमा बेलिब्रिजसमेत निर्माण गरिएको छ।
विद्युत्गृह परिसरमा स्वीचयार्ड निर्माण गर्नुका साथै कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी क्षमताको डबल सर्किट दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट विद्युत् जोड्न चारवटा टावर र प्रसारण लाइन निर्माण गरिएको छ।
आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि २०७५ चैतमा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको थियो। भारतको वाकफोस कम्पनी आयोजनाको परामर्शदाता हो।
राहुघाट निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले भारतीय निर्माण कम्पनी आइभीआरसीएलसँग २०६७ कात्तिक १८ गते दुई अर्ब ५० करोड रुपैयाँमा सिभिल निर्माणको ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार काम भएको भए आयोजनाबाट २०७० सालमै विद्युत् उत्पादन सुरु हुने थियो।
तर, कमजोर आर्थिक अवस्थाका कारण निर्माण कम्पनीले काम अघि बढाउन नसकेपछि प्राधिकरणले २०७२ सालमा ठेक्का रद्द गरेको थियो। ठेक्का रद्द हुँदासम्म पाँच वर्षको अवधिमा आयोजनाको भौतिक प्रगति १२ प्रतिशत मात्रै पुगेको थियो।
त्यसपछि प्राधिकरणले आयोजनाको पुनर्संरचना गर्दै क्षमता ३२ मेगावाटबाट बढाएर ४० मेगावाट पुर्याउने र कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको थियो। सोहीअनुसार २०७३ सालमा प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरी निर्माण प्रक्रिया अघि बढाइएको थियो।
भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) प्रारूपमा आयोजना निर्माण गर्ने प्रक्रिया अघि बढाइएको हो।
नयाँ प्रक्रियाअन्तर्गत भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)सँग २०७४ मङ्सिर ६ गते करिब छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ४५ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता गरिएको थियो। २०७५ असारदेखि पहुँचमार्ग र २०७६ असार ८ गतेदेखि पिप्लेस्थित तेस्रो नम्बरको अडिटबाट सुरुङ निर्माण सुरु गरिएको थियो। २०८१ साउन १५ गते मुख्य सुरुङ जोडिएको थियो।
निर्माण अवधिमा पटकपटक म्याद थपिएको थियो। सन् २०२२ फेब्रुअरीमा पहिलो र दोस्रोपटक तथा सन् २०२५ नोभेम्बरसम्मका लागि तेस्रोपटक म्याद थपिएको थियो। चौथोपटक थपिएको समयभित्र आयोजना सम्पन्न भएको हो।
त्यस्तै, इलेक्ट्रोमेकानिकलतर्फ भारत सरकारको स्वामित्वमा रहेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले राहुघाट जलविद्युत् आयोजनालाई जिल्लाको जलविद्युत् विकासको प्रवेशबिन्दुका रूपमा लिइएको बताए। उनका अनुसार जिल्लामा सरकारी लगानीमा निर्माण भएको पहिलो आयोजना राहुघाट हो।
‘राहुघाट आयोजना सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन्’, उनले भने, ‘डेढ दशकको लामो प्रतीक्षापछि भए पनि राहुघाटले व्यावसायिक उत्पादन सुरु गर्दा हामी उत्साहित भएका छौँ।’
आयोजनाको व्यावसायिक उत्पादनसँगै म्याग्दीको विद्युत् उत्पादन क्षमता थप वृद्धि हुनुका साथै राष्ट्रिय प्रसारण प्रणालीमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।