काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउको संरक्षण एवं व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले हिमालय पर्वत शृङ्खला भौगोलिक संरचना मात्र नभई जीवन, पहिचान र समृद्धिको साझा स्रोत भएको बताइन् ।
उनले हिमाली जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धि सुनिश्चित गर्न छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य हुनुपर्नेमा जोड दिइन् ।
मन्त्री चौधरीका अनुसार हिमाली वन तथा प्राकृतिक भू-दृश्यले नदी प्रणालीलाई जीवन्त राख्नुका साथै जैविक विविधताको संरक्षण र लाखौँ मानिसको जीविकोपार्जनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ हिमाली समुदायका लागि आयआर्जन, सम्मान र आशाका स्रोत भएको उल्लेख गर्दै उनले यस्ता प्राकृतिक सम्पदाको दिगो उपयोगबाट हरित तथा न्यायपूर्ण अर्थतन्त्र निर्माण गर्न सकिने बताइन् ।
उनले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारका कारण हिमाली प्राकृतिक सम्पदामाथि जोखिम बढ्दै गएको पनि बताइन् ।
‘हिमालयले हामीलाई जोडेको छ, हाम्रा नीति र साझेदारीहरूले पनि त्यो जोडाइलाई प्रतिबिम्बित गर्नुपर्छ,’ उनले भनिन् ।
हिमाली मुलुकहरूले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारजस्ता चुनौती एक्लाएक्लै समाधान गर्न नसक्ने उनको भनाइ थियो । राष्ट्रिय सार्वभौमसत्ता, घरेलु कानुन र राष्ट्रिय प्राथमिकताको सम्मान गर्दै साझा चुनौती समाधानका लागि क्षेत्रीय सहकार्य अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।