काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका थिए ।
भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता, ऊर्जा, पूर्वाधार, व्यापार तथा अन्य विभिन्न विषयमा छलफल हुनुका साथै सहमति र सम्झौतासमेत भएका छन् ।
प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले बिदाइ गरेका थिए ।
दुई देशबीचको उच्चस्तरीय भेटघाट, छलफल तथा विभिन्न द्विपक्षीय सहमति र सम्झौतासम्बन्धी कार्यक्रम सम्पन्न गरेर प्रधानमन्त्री शाह स्वदेश फर्किएका हुन् ।