काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।
राष्ट्रपति भवन परिसरमा आयोजित विशेष समारोहमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरेको हो । सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए ।
आइतबार भारत पुगेका प्रधानमन्त्री शाहको आज उच्चस्तरीय भेटवार्ता तथा विभिन्न औपचारिक कार्यक्रम तय भएका छन् ।
कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह बिहान १०ः४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन् । त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनेछ ।
भेटवार्तालगत्तै बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ । दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्बोधनको कार्यक्रम रहेको छ ।
त्यसपछि दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् । दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।
भारत भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह साँझ ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।