कीर्तिपुर । ओपनर जर्ज मुन्सेको विस्फोटक शतकप्रेरित प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले तेस्रो प्रयासमा पहिलोपटक उपाधि उचालेको हो । यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनीसँग फाइनलमा पराजित भएको सुदूरपश्चिमले यसपटक अघिल्लो सिजनको हारको बदला पनि लिएको छ ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो । मुन्सेले ५४ बलमा आठ चौका र १२ छक्कासहित अविजित १२५ रन बनाए । उनले ४९ बलमै शतक पूरा गरेका थिए । अर्का ओपनर विनोद भण्डारीले २७ बलमा अविजित ३० रन जोड्दै मुन्सेलाई साथ दिए । अघिल्ला दुई खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेका मुन्सेले फाइनलमा भने उत्कृष्ट ब्याटिङ गरे ।
यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनमा रोकेको थियो । खराब सुरुआत गरेको लुम्बिनीका लागि मध्यक्रमका ब्याटर दिलीप नाथले अविजित ३९ रन बनाउँदै इनिङ सम्हाले । उनले ३१ बलमा तीन छक्का प्रहार गरे।
लुम्बिनीले तेस्रो ओभरमै ओपनर आसिफ शेखलाई एक रनमा गुमाएको थियो । सुदूरपश्चिमका स्कट कुग्गेलिनले उनलाई एलबीडब्लू आउट गरे । त्यसपछि डार्सीले १८ बलमा २१ र निरोशन डिकवेलाले १७ बलमा २८ रन बनाए । डिकवेला र कप्तान रोहित पौडेलबीच तेस्रो विकेटका लागि ३९ रनको साझेदारी भएको थियो । रोहित ३१ बलमा ३० रन बनाएर रनआउट भए ।
१५ ओभरमा चार विकेट गुमाएर १०८ रन बनाएको लुम्बिनीले अन्तिम पाँच ओभरमा ४८ रन थप्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । अली शेखले १२ बलमा दुई चौका र दुई छक्कासहित २४ रन बनाए भने दिलीपले अन्तिमसम्म क्रिजमा रहेर टोलीको स्कोर उकासे ।
सुदूरपश्चिमका लागि कुग्गेलिनले दुई विकेट लिए । हेमन्त धामी, थरिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । हेमन्तले चार ओभरमा २३ रन मात्रै खर्चिए ।