काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शाहीले पार्टीमा पुस्तान्तरण र रूपान्तरण आवश्यक रहेको भन्दै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले राप्रपामा तीन पुस्ताको प्रतिनिधित्व रहेको उल्लेख गर्दै पार्टीलाई बलियो बनाउन सबै पुस्ताको साथ र सहयोग आवश्यक रहेको बताए । विशेषगरी युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्नेमा जोड दिँदै उनले समयअनुसार नेतृत्व परिवर्तन हुन नसके पार्टी कमजोर बन्ने धारणा राखे ।
‘राप्रपामा पुस्तान्तरण हुन सकेन । हामीले पुस्तान्तरण गर्न सकेनौँ भने जनतामा जाँदा एमाले, नेकपा र कांग्रेसका नेताको घरमा गएर एक–दुई सिट माग्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।
शाहीले पार्टीका अग्रज नेताहरूको योगदान र विचारको सम्मान गर्दै उनीहरूको सुझाव तथा अनुभवलाई आत्मसात् गरेर युवालाई नेतृत्वमा अघि बढाउनुपर्ने बताए ।
राप्रपाको महाधिवेशन आगामी मङ्सिरको अन्तिम साता हुँदैछ । महाधिवेशनलाई लक्षित गर्दै शाहीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।