काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स दोस्रो सिजनमा समूह चरणबाटै बाहिरिएको छ। शुक्रबार चितवन राइनोजसँग ४ विकेटले पराजित भएपछि जनकपुरको प्लेअफ यात्रा समाप्त भएको हो।
जनकपुरले ७ खेलबाट २ जित र ५ हारसहित ४ अंक मात्रै जोड्न सक्यो।
जनकपुरको हारसँगै कर्णाली याक्स पनि प्लेअफ दौडबाट बाहिरिएको छ। ६ खेलबाट ४ अंक जोडेको कर्णालीले अन्तिम खेल जिते पनि ६ अंक मात्रै पुग्ने भएकाले प्लेअफमा स्थान बनाउन सक्ने छैन।
यता, जितसँगै चितवन राइनोजको प्लेअफ सम्भावना भने जीवितै रहेको छ। एक खेल बाँकी रहेको चितवनले अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ। उक्त खेल जिते चितवन प्लेअफमा प्रवेश गर्नेछ।
जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। चितवनका लागि डेविड मलानले अविजित ३५ रन बनाए। कुशल मल्लले १५ र रवि बोपाराले १३ रनको योगदान दिए।
जनकपुरका राहुल यादवले तीन विकेट लिए भने ललित राजवंशीले दुई र विशाल सुश्लिङले एक विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन मात्रै बनाउन सक्यो। टोलीका लागि हरमीत सिंहले सर्वाधिक २५, विशाल सुश्लिङले १५ तथा राहुल यादव र सन्तोष कार्कीले समान १० रन बनाए।
चितवनका रञ्जित कुमारले तीन विकेट लिए। सिकन्दर राजा र कुशल मल्लले दुई–दुई तथा कमल ऐरी र रिजन ढकालले एक–एक विकेट लिए।