धनुषा – मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले दुर्घटनामा मृत्यु भएकाका परिवारलाई राहतस्वरूप जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिनुभयो ।
बैठकले दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रादेशिक अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेदेखि सञ्चालन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेशसभा बैठक पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णयसँगै बैठक बस्ने बाटो खुलेको छ ।