कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पहिलो हार बेहोरेपछि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले यसलाई प्लेअफको तयारीका दृष्टिले सही समयमा भएको हारका रूपमा लिएका छन् । काठमान्डु गोर्खाजसँगको पराजयले कमजोरी पहिचान गरी सुधार गर्ने अवसर दिएको उनको भनाइ छ ।
शनिबार खेलपछि आयोजित पत्रकार सम्मेलनमा रोहितले बाँकी दुई खेलमा राम्रो प्रदर्शन गर्दै प्लेअफमा पुग्ने विश्वास व्यक्त गरे । अहिलेको हारबाट टोलीले पाठ सिकेर आगामी खेलमा सुधार गर्न सक्ने उनले बताए ।
कप्तान रोहितले किशोर महतोको चोटका कारण टोलीको बलिङ संयोजनमा परिवर्तन गर्नुपरेको र त्यसको असर सुरुवाती १० ओभरमा परेको बताए । अन्तिम तीन ओभरमा बढी रन खर्चिए पनि बलरको प्रयोग योजनाअनुसार नै गरिएको उनको भनाइ थियो ।
१६१ रनको लक्ष्य पूरा गर्न सकिने खालको भए पनि पावरप्लेमा लगातार विकेट गुमाउँदा टोली दबाबमा परेको रोहितले बताए । उनले ओपनर आसिफ शेख र डार्सी सर्टले आगामी खेलमा राम्रो प्रदर्शन गर्ने विश्वाससमेत व्यक्त गरे ।