काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ मा सहभागी हुने विद्यार्थीका लागि रजिस्ट्रेशन तथा परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना जारी गरेको छ।
बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीका लागि रजिस्ट्रेशन फारम भर्ने समयसीमा सार्वजनिक गरेको हो।
सूचनाअनुसार कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेभित्र प्रतिविद्यार्थी ३०० रुपैयाँ राजस्व शुल्क बुझाएर रजिस्ट्रेशन फारम भर्नुपर्नेछ।
त्यसैगरी, २०८४ सालमा सञ्चालन हुने एसईई परीक्षामा सहभागी हुने विद्यार्थीका लागि परीक्षा आवेदन फारम भर्ने अवधि पनि तोकिएको छ। नियमित, खुला तथा प्राविधिक धारका विद्यालयमा अध्ययनरत विद्यार्थीले कात्तिक १ गतेदेखि मङ्सिर ८ गतेसम्म आवेदन फारम भर्न सक्नेछन्।
परीक्षा आवेदनका लागि प्रतिविद्यार्थी ५०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ। बोर्डले तोकिएको समयभित्र आवश्यक शुल्क बुझाएर फारम भर्न सम्बन्धित विद्यालय र विद्यार्थीलाई आग्रह गरेको छ।