सरकारले चिकित्सा शिक्षामा अध्ययनका लागि विभिन्न शिक्षण संस्थामा सिट संख्या थप गरेको छ ।
देशमै गुणस्तरीय चिकित्सा शिक्षाको पहुँच बढाउन र हाम्रा होनहार विद्यार्थीहरूलाई आफ्नै देशमा डाक्टर-नर्स बन्ने वातावरण बनाउनका लागि सरकारले चिकित्सा शिक्षाको सिट संख्या बढाएको हो । शिक्षामन्त्री सस्मित पोखरेलले यसबारे भने, ‘यसै क्रममा चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षामा ४१८ वटा नयाँ सिट थप भएको खुसीको खबर यहाँहरूसँग साट्न चाहन्छु । यसपालि हामीले निजी कलेजहरूको सिट संख्या यथावत राखि सबै थप सिट सरकारी शिक्षण संस्थालाई दिएका छौँ । यसको उद्धेश्य निजी क्षेत्रलाई निरुत्साहित गर्नु नभई जेहेन्दार विद्यार्थीहरूले कम शुल्कमा सरकारी शिक्षण संस्थामै अध्ययन गर्ने अवसर पाऊन् भन्ने हो ।’
नयाँ सिट संख्या थपिएका शिक्षण संस्थाबारे मन्त्री पोखरेलले भनेका छन्, ‘विशेषगरी सुदूरपश्चिमबासीको वर्षौँदेखिको सपना पूरा गर्दै गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अब ५० सिटसहित एमबीबीएस पठनपाठन सुरु हुँदैछ । यसका साथै धरानस्थित बीपी कोइराला र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० गरी एमबीबीएसतर्फ ११० सिट थपिएको छ । यसबाहेक बि.एससी. नर्सिङमा २१० सिट र बि.एम.एस.मा ९८ सिट हामीले थप गरेका छौँ ।’
मन्त्री पोखरेलले नेपाली विद्यार्थीको उज्ज्वल भविष्य निर्माणको सपना साकार पार्ने यो प्रयास स्वरुप सिटसंख्या थप गरेको बताएका छन् ।