भक्तपुर। एभरेष्ट मल्टिस्किल्स प्रालिले भक्तपुरको दधिकोटमा ३० विधामा प्राविधिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले अन्तर्राष्ट्रिय श्रम बजारमा समेत काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित आवासीय प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको हो।
प्रशिक्षण केन्द्रको आइतबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शुभारम्भ गरे। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट ३० वटा ट्रेडमा सम्बन्धन प्राप्त गरेको कम्पनीले प्लम्बिङ, स्काफोल्डिङ, इन्सुलेसन, पेन्टिङ र केयरगिभरलगायतका विधामा तालिम सञ्चालन गर्ने जनाएको छ।
कम्पनीका निर्देशक अनन्तराम खतिवडाका अनुसार दधिकोटमा ५६ हजार ७६० वर्गफिट क्षेत्रफलमा फैलिएको प्रशिक्षण केन्द्रमा ११ हजार ५२८ वर्गफिटको इन्डोर स्काफोल्डिङ तालिम हलसमेत निर्माण गरिएको छ। केन्द्रमा १५० शय्याको आवासीय सुविधा उपलब्ध छ।
खतिवडाले संस्थाले तालिमसँगै प्रशिक्षार्थीलाई अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यक कार्यअनुशासन, व्यावसायिक आचरण र सहकार्यको संस्कृतिसमेत सिकाउने बताए।
‘हामी कुनै म्यानपावर व्यवसायी होइनौँ। हामी देश र विश्व बजारका लागि साइट–रेडी ग्लोबल वर्कफोर्स उत्पादन गर्ने एउटा अत्याधुनिक प्राविधिक प्रशिक्षण संस्था हौँ,’ उनले भने।
उनले राष्ट्रिय सीप विकासका कार्यक्रम, वैदेशिक रोजगारी लक्षित प्राविधिक तालिम र सीप प्रमाणीकरणका परियोजनामा सहकार्य गर्न सरकारसँग आग्रह गरे। निजी क्षेत्रका प्राविधिक प्रशिक्षण संस्थालाई सरकारी सीप विकास कार्यक्रमसँग जोड्न सके दक्ष जनशक्ति उत्पादन र अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली कामदारको प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।
कम्पनीले आगामी दिनमा सरकारी निकाय, नियामक संस्था तथा वैदेशिक रोजगार क्षेत्रका सरोकारवालासँग सहकार्य गरी तालिम कार्यक्रम विस्तार गर्ने जनाएको छ।