काठमाडौं । बडादशैंको आठौँ दिन महाष्टमीका अवसरमा काठमाडौंको भद्रकालीसहित देशभरका प्रमुख शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। श्रद्धालुहरू शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गर्न विभिन्न मन्दिरमा लामबद्ध भएका छन्।
काठमाडौं उपत्यकाका भद्रकाली, गुह्येश्वरी, शोभाभगवती, दक्षिणकाली, मैतीदेवी, नक्साल भगवती, संकटा र कालिकास्थानलगायत शक्तिपीठमा भक्तजनको उल्लेख्य उपस्थिति छ। उपत्यकाबाहिर पाल्पाको भगवती, बाँकेको वागेश्वरी, दाङको अम्बिकेश्वरी, गोरखाको मनकामना र ताप्लेजुङको पाथीभरामा पनि बिहानैदेखि पूजाआजा गर्नेहरूको भीड लागेको छ।
आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ। यस दिन घटस्थापना गरिएको स्थानमा विधिपूर्वक पूजा गर्नुका साथै बलि दिने परम्परा छ। बलि नदिनेहरूले भने कुभिन्डो, घिरौँला, मूला र नरिवललगायत वस्तु चढाएर पूजा गर्छन्।
महाष्टमीका अवसरमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा महाकाली, महालक्ष्मी र महासरस्वतीका स्तोत्र पाठ गर्ने धार्मिक मान्यता छ। किसान, कालिगड तथा सुरक्षाकर्मीले पनि आफ्ना औजार, हातहतियार, सवारीसाधन र कलपुर्जाको सफाइ गरी विश्वकर्मा तथा दुर्गा भवानीको प्रतीक मानेर पूजा गर्ने परम्परा छ।
महाष्टमीको राति शक्तिपीठहरूमा तान्त्रिक विधिअनुसार कालरात्रि पूजा गर्ने चलनसमेत छ। धार्मिक मान्यताअनुसार यो पूजा शक्ति आराधना र असत्यमाथि सत्यको विजयसँग जोडिएको छ।