काठमाडौँ– बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा घरघरका पूजा कोठामा नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ। नवरात्रका नौ दिनमा नवदुर्गाका नौवटा स्वरूपको क्रमशः पूजा आराधना गरिन्छ।
दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने प्रचलन छ। यी नौ स्वरूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ।
धार्मिक मान्यताअनुसार स्कन्दमातालाई भगवान् स्कन्द अर्थात् कार्तिकेयकी माता मानिन्छ। स्कन्दमाताको प्रतिमा सिंहासनमा विराजमान र दुवै हातमा कमलको फूल धारण गरेकी स्वरूपमा वर्णन गरिएको पाइन्छ।
नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गरिन्छ। यस अवधिमा देवीको आराधना र पूजा गर्नाले शक्ति, ऐश्वर्य तथा विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्।
नवरात्रका नौ दिनसम्म पूजा आराधना गरेपछि प्रसादस्वरूप जमरा र टीका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन्।
स्कन्दमातासम्बन्धी पौराणिक कथा
पौराणिक ग्रन्थमा स्कन्दमातासम्बन्धी विभिन्न कथा उल्लेख छन्। एउटा कथाअनुसार, भगवान् शिव र माता पार्वती ऋषिहरूको सभामा जाँदा सबै ऋषि उठेर स्वागत गरे पनि ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन्। यसबाट अप्रसन्न भएकी पार्वतीले उनलाई उँट बन्ने श्राप दिइन्।
त्यसपछि भगवान् शिवले ज्ञानी व्यक्तिलाई श्रापले समेत विचलित पार्न नसक्ने बताउँदै सनतकुमारको ब्रह्मज्ञानको महत्त्व बुझाए। त्यसपछि शिव र पार्वती उँट बनेका सनतकुमारलाई भेट्न पुगे।
पार्वतीले उँटको योनिमा रहँदा कस्तो अनुभव भइरहेको छ भनी सोध्दा सनतकुमारले आफूलाई कुनै कष्ट नभएको र जङ्गलका काँडा खाँदै पनि ब्रह्मचिन्तनमा रमाइरहेको जवाफ दिए।
ऋषिको ज्ञान र धैर्यबाट प्रभावित भएकी पार्वतीले आफूले उनको महत्त्व नबुझी श्राप दिएकोमा पश्चात्ताप गर्दै उनलाई पुत्रका रूपमा प्राप्त गर्न चाहेको बताइन्। पार्वतीको इच्छाअनुसार सनतकुमारले उनीबाट जन्म लिएको र त्यसपछि स्कन्दमाताका रूपमा परिचित भएको कथा पौराणिक परम्परामा उल्लेख गरिएको छ।