काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयका विषयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताएका छन् । उनले जलवायु परिवर्तनको असर विश्वभर तीव्र रूपमा बढिरहेका बेला अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
टर्किएको अन्ताल्यामा निर्धारित समयभन्दा दुई दिन ढिलो आइतबार सम्पन्न कोप–३१ को समापन समारोहलाई सम्बोधन गर्दै कार्यकारी सचिव स्टिलले यस्तो धारणा व्यक्त गरेका हुन् । जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी सहकार्यलाई कमजोर हुन दिन नहुने उनको भनाइ थियो ।
उनले जलवायु परिवर्तनका कारण विश्वका विभिन्न क्षेत्रमा गम्भीर प्रभाव देखिन थालेको, जीवाश्म इन्धनको लागतले अर्थतन्त्रमा मुद्रास्फीति बढाइरहेको र विश्वको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम बढ्दै गएको उल्लेख गरे ।
‘विश्वले यस्तो अवस्थाको पुनरावृत्ति धान्न सक्दैन । हाम्रो प्रक्रिया, नियमावली र स्थापित नजिरहरू विश्वका करिब २०० देशलाई एउटै मञ्चमा ल्याउनका लागि बनाइएका हुन्’, उनले भने ।
स्टिलका अनुसार विगत एक दशकमा जलवायु वार्ताका माध्यमबाट तापक्रम वृद्धिको लक्ष्य निर्धारण, जलवायु वित्तसम्बन्धी नयाँ लक्ष्य तय, जीवाश्म इन्धनबाट न्यायोचित, व्यवस्थित र समतामूलक रूपान्तरण तथा अनुकूलनसम्बन्धी विश्वव्यापी लक्ष्य निर्धारणजस्ता महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन् ।
उनले कोप प्रक्रिया १९४ पक्ष राष्ट्रहरूको साझा मञ्च भएकाले सबै देशका विचारलाई पारदर्शी रूपमा सुन्ने र विगतका उपलब्धिलाई आधार बनाएर अघि बढ्ने पद्धति आवश्यक रहेको बताए । जलवायु वार्ताको प्रक्रियालाई सुधार, आधुनिकीकरण र पुनर्संरचना गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए ।
विश्व अहिले प्रतिबद्धता व्यक्त गर्ने चरणबाट कार्यान्वयनको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले बदलिँदो परिस्थितिअनुसार अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रक्रियालाई पनि परिमार्जन गर्नुपर्ने बताए ।
कोप–३१ को औपचारिक वार्तामा अपेक्षित सहमति जुट्न नसके पनि कार्यसूची (एक्सन एजेन्डा) अन्तर्गत भने महत्त्वपूर्ण प्रगति भएको उनको भनाइ थियो । कृषि तथा खाद्य प्रणालीको रूपान्तरणदेखि सहर र पूर्वाधारको उत्थानशीलता अभिवृद्धिसम्मका छवटा प्रमुख कार्यक्षेत्रमा ठोस उपलब्धि हासिल भएको उनले बताए ।
विभिन्न देशका प्रतिबद्धता र नेताहरूको शिखर सम्मेलनबाट विश्व अर्थतन्त्रको करिब आधा हिस्सा विद्युतीकरणलाई तीव्रता दिन अग्रसर भएको पनि उनले उल्लेख गरे । कोप–३१ को विद्युतीकरण कार्यान्वयन प्याकेजले वास्तविक अर्थतन्त्रमा सकारात्मक प्रगति गरेको उनको भनाइ थियो ।
यी उपलब्धिले नवीन प्रविधि, लगानी र सकारात्मक परिवर्तनलाई गति दिने विश्वास व्यक्त गर्दै स्टिलले अन्ताल्यामा भएका प्रगतिले आगामी दिनमा थप महत्त्वाकाङ्क्षी जलवायु परिणाम हासिल गर्ने प्रतिबद्धता बलियो बनाउने बताए ।
यसअघि पनि जलवायु वार्ता प्रक्रियाले विभिन्न अवरोध र असफलता सामना गरे पनि पुनः सशक्त रूपमा अघि बढेको स्मरण गराउँदै उनले यसपटक पनि अन्तर्राष्ट्रिय समुदायले त्यही प्रतिबद्धता देखाउनुपर्ने बताए ।
आगामी कोप–३२ लाई महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै उनले दोस्रो विश्वव्यापी समीक्षा (ग्लोबल स्टकटेक–२) मा पहिलो समीक्षाबाट प्राप्त उपलब्धिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । पहिलो समीक्षाका उपलब्धिलाई कमजोर बनाउनुको सट्टा तिनलाई थप प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने उनको धारणा थियो ।
जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी अभियानमा नागरिक समाजको भूमिका अझ महत्त्वपूर्ण बन्दै गएको उल्लेख गर्दै स्टिलले सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई आपसी सहकार्यको गति कायम राख्न आग्रह गरे ।
दुई सातासम्म चलेको सम्मेलन सफल बनाउन योगदान पुर्याउने टर्की सरकार तथा जनता, कोप अध्यक्षता, वार्ता अध्यक्षता र संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयका कर्मचारीलाई उनले धन्यवाद दिए ।
जलवायु सहकार्यले विगतका कोप सम्मेलनमार्फत उल्लेखनीय उपलब्धि हासिल गरे पनि विश्वलाई विनाशकारी तापक्रम वृद्धिको जोखिमबाट जोगाउन अझै धेरै काम गर्न बाँकी रहेको उनको निष्कर्ष थियो ।
‘जलवायु परिवर्तनविरुद्धको सङ्घर्ष जारी रहनेछ, हामी कहिल्यै हार मान्नेछैनौँ’, उनले भने ।