काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्न भेटघाट र छलफललाई तीव्रता दिएका छन्।
करिब पाँच महिनाको विदेश बसाइँपछि स्वास्थ्य उपचार सकेर स्वदेश फर्किएका देउवाले पार्टी सभापति गगन थापासँग समेत भेटवार्ता गर्ने भएका छन्। आइतबार डडेलधुराका कांग्रेसका पूर्वसभापति कर्ण मल्लसँगको भेटमा देउवाले सबै पक्षलाई मिलाएर पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल सुरु गरेको बताएका हुन्।
देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिवसमेत रहेका मल्ल आइतबार देउवालाई भेट्न पुगेका थिए। भेटका क्रममा देउवाले पार्टीका नेताहरूसँग भेटघाट र छलफल अघि बढाइरहेको जानकारी दिएको मल्लले बताए।
मल्लका अनुसार देउवाले भनेका थिए, ‘बोलाएर भेटघाट र छलफल गरिरहेको छु। गगन थापालाई पनि भेट्न खबर पठाएको छु। पार्टी एकताका लागि भेटेर छलफल गर्छु।’
भेटमा मल्लले देउवालाई अभिभावकीय भूमिकामा रहेर पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ लैजान सुझाव दिएका थिए। सबै पक्षलाई समेटेर १५औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा देउवा सकारात्मक देखिएको मल्लले जानकारी दिए।
मल्ल डडेलधुराबाट दुई पटक कांग्रेस जिल्ला सभापति बनेका थिए।