पाटन (ललितपुर) । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई ‘प्रदीप गिरि स्मृति फेलोसिप’ प्रदान गर्ने भएको छ ।
स्व प्रदीप गिरिको चौथो स्मृतिको अवसरमा शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाले अध्ययनका चार प्रमुख क्षेत्रमा चार जनालाई सो फेलोसिप प्रदान गर्ने घोषणा गरेका हुन् ।
‘अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई फेलोसिप प्रदान गरिनेछ, पहिलो नेपाली राजनीति, गणतन्त्र र संघीयता, दोस्रो समावेशिता र सामाजिक न्याय, तेस्रो साहित्य, दर्शन र विचारको इतिहास र चौथो विषय युवा नेतृत्व, नागरिक शिक्षा र लोकतान्त्रिक नवप्रवर्द्धन रहनेछन्’, सभापति थापाले भने ।
सभापति थापाले प्रदीप गिरिलाई सम्झनु भनेको केवल उनका विचार स्मरण गर्नु मात्रै होइन भन्दै गिरिले जीवनभर राेखेका अध्ययन, प्रश्न, विचार र सामाजिक न्यायको बाटोलाई निरन्तरता दिनु पनि हो भन्ने भावनाका साथ ‘प्रदीप गिरि स्मृति फेलोसिप’ सुरु गरिएको जानकारी दिए ।
उनले कुनै विचारकप्रति सबैभन्दा सार्थक श्रद्धाञ्जली उनका विचारलाई स्मारकमा मात्र सीमित गर्नु नभइ नयाँ पुस्तालाई ती विचारसँग संवाद गर्ने, तिनलाई प्रश्न गर्ने र अझ अगाडि लैजाने अवसर सिर्जना गरेकाे बताए ।
उपसभापति विश्वप्रकाश शर्माले प्रदीप गिरि विचारको विश्वविद्यालय भएको बताए ।