काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद चर्किरहेका बेला ‘विशेष महाधिवेशन’ पक्षबाट आयोजना हुने अधिवेशन तथा महाधिवेशनका गतिविधिमा सहभागी नहुन पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
कोइरालाले विशेष महाधिवेशन पक्षका गतिविधिलाई ‘अवैधानिक र विभाजनकारी’ भन्दै यस्ता कार्यक्रम आयोजना नगर्न र नगराउन अपिल गरेका हुन् । उनले पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई त्यस्ता गतिविधिबाट अलग रहन आग्रह गरेका छन् ।
उनका अनुसार कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डिभिजन इजलासको निर्णयविरुद्ध पुनरावलोकनका लागि दिएको निवेदनमा सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको अनुमति (निस्सा) समेत दिइसकेको उनले उल्लेख गरेका छन् ।
मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशनको निर्णय गर्दै कार्यतालिका सार्वजनिक गर्नुले पार्टीभित्र थप विवाद सिर्जना गर्ने कोइरालाको तर्क छ ।
विशेष महाधिवेशनका गतिविधिका कारण कांग्रेसको केन्द्रीय कार्यसमिति नै समानान्तर रूपमा विभाजित भएको उल्लेख गर्दै उनले थप अधिवेशन वा महाधिवेशन आयोजना गरिए पार्टीको तल्लो तहसम्मै संरचनागत विभाजन निम्तिन सक्ने चेतावनी दिएका छन् ।
यस्तो विभाजनको असर आगामी स्थानीय तह तथा प्रदेश सभा सदस्य निर्वाचनमा समेत पर्न सक्ने उनको भनाइ छ । पार्टीलाई सुदृढ, सबल र गतिशील बनाउन अहिले सांगठनिक तथा भावनात्मक एकता कायम गर्नु आवश्यक रहेको कोइरालाले बताएका छन् ।