काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले जनसरोकारका आधारभूत मुद्दामा सरकार गम्भीर नभएको टिप्पणी गरेका छन्।
बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै राईले दैनिक उपभोग्य वस्तुको अभाव, प्रशासनिक ढिलासुस्ती र नागरिकले भोगिरहेका आधारभूत सेवाका समस्यालाई लिएर सरकारको आलोचना गरे। सत्तापक्षको आन्तरिक बैठकका कारण संसद् बैठक ढिलो सुरु भएको भन्दै उनले यस्तो ढिलासुस्तीले संसदीय गरिमामाथि प्रश्न उठाउने बताए।
ग्यास, पेट्रोलियम पदार्थ र खानेपानीका लागि नागरिकले भोगिरहेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै उनले कालोबजारी नियन्त्रण र आवश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित गर्नु सरकारको जिम्मेवारी भएको बताए। ‘कालाबजारी भइरहेको छ भने त्यसलाई नियन्त्रण गर्ने काम कार्यकारी निकाय सरकारकै हो,’ उनले भने।
राईले मल खरिदका लागि जग्गाको लालपुर्जा अनिवार्य गर्ने व्यवस्था अव्यावहारिक भएको बताए। वास्तविक किसानले अरूको जग्गा कमाइरहेको अवस्थामा लालपुर्जा नभएकै कारण मलबाट वञ्चित हुनु न्यायोचित नभएको उनको भनाइ छ।
गृहमन्त्रीले छानबिन प्रतिवेदन पत्रकारलाई नै खोज्न आग्रह गरेको प्रसंगमा राईले आपत्ति जनाउँदै यस्तो अभिव्यक्तिलाई ‘केटाकेटीपन’को संज्ञा दिए।
आफूले ताली र गाली दुवै स्वीकार गर्ने बताउँदै राईले सबै दलका समर्थकलाई संयमित रहन र गालीगलौजमा नउत्रन आग्रह गरे। ‘नेताले ताली र गाली दुवै स्वीकार गर्नुपर्छ,’ उनले भने।