काठमाडौं। नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर केसीले सरकारको कार्यशैली, संसदीय जवाफदेहिता र सुशासनमाथि प्रश्न उठाएका छन्। उनले विगतका सरकारलाई दोष दिएर वर्तमान सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए।
बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै केसीले प्रधानमन्त्री सदनको नेता भए पनि संसद्ले पर्याप्त काम पाउन नसकेको र लामो समयसम्म प्रभावकारी कार्यवाही अघि नबढेको भन्दै सरकारको नेतृत्वदायी भूमिकामाथि प्रश्न गरे। ‘संसदीय व्यवस्थामा प्रधानमन्त्री सदनको नेता हुन्छ, तर खोइ संसदलाई काम दिएको ? यहाँ शालीनता, जवाफदेहिता र अनुशासन कहाँ छ ?’ उनले भने।
अर्थमन्त्रीको विज्ञतामाथि सर्वसाधारणले ठूलो अपेक्षा राखेको भएपनि हालै सार्वजनिक बजेट विपन्न वर्गको हितमा केन्द्रित नभएको उनले बताए। बजारमुखी अर्थतन्त्रले गरिब जनताको मर्म बुझ्न नसकेको र बजेटले हुनेखाने वर्गलाई प्राथमिकता दिएको उनको भनाइ छ।
गौरी आयोगलगायत विभिन्न छानबिन समिति तथा आयोगका प्रतिवेदन सार्वजनिक नगरेको भन्दै उनले सरकारको आलोचना गरे। २३ र २४ गतेका घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न तथा राष्ट्रिय मानवअधिकार आयोगका प्रतिवेदन कार्यान्वयन गर्न उनले माग गरे।
गृहमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगरेको र सुरक्षा निकायका प्रमुखसँगको सम्बन्ध सामाजिक सञ्जालमा चर्चामा आएको भन्दै केसीले शासन, प्रशासन र सुरक्षा निकायबीचको सम्बन्ध थप मर्यादित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उनले संविधानअनुसार निर्वाचित भएर सरकारमा सहभागी दलहरूबाटै संविधान र संघीयतामाथि प्रश्न उठाइनु विरोधाभासपूर्ण भएको बताए। संघीयता तथा प्रदेश संरचनाबारे फरक–फरक धारणा सार्वजनिक हुँदा जनतामा भ्रम सिर्जना भएको उनको भनाइ छ।