काठमाडौँ । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाको छानविनका लागि तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको छ ।
पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त घटनाको छानबिनका लागि गठन भएको सरकारी संयन्त्रले कमजोरी लुकाउनसक्ने भन्दै तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेको हो ।
बैठकले उक्त घटनामा पीडित परिवारसँग भएको सम्झौता अनुसार ४ जनालाई सहिद घोषणा गर्नुबाहेक अन्य कुनै विषय कार्यान्वयन नभएकाले सम्झौताहरूको अविलम्ब कार्यान्वयन गर्न पनि माग गरेको छ । सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार, बैठकमा १५ औं महाधिवेशन तयारी, क्रियाशील सदस्यता अद्यावधिक र वितरण लगायतका विषयमा सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
धेरै निर्वाचन क्षेत्र र जिल्लाहरूमा क्रियाशील सदस्यताको विषय टुङ्गो लागिसकेकाले पार्टी महाधिवेशनको दिशामा अघि बढिसकेको उनले बताए । बैठकमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको कार्यसम्पादन, तिनलाई पूर्णता दिने विषय र तिनका विधानका सम्बन्धमा पनि छलफल भइरहेको उनले जानकारी दिए ।