काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।
बैठकमा आगामी १५औँ महाधिवेशनको तयारी तथा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे विस्तृत छलफल हुने कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरले जानकारी दिए।
उनका अनुसार बैठकमा महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका निर्माण, सदस्यता अद्यावधिक र वितरणलगायत विषयमा छलफल हुनेछ। साथै, महाधिवेशन तयारी समिति गठन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि बैठकमा पेस हुनेछन्।
यस्तै, पछिल्लो समय तराई–मधेस क्षेत्रमा भएका विभिन्न घटनाक्रम, सरकारको १०० दिनको समीक्षा र विपक्षी दलको भूमिका, प्रदेश सरकार तथा पार्टीको संगठनात्मक अवस्थाबारे पनि बैठकमा छलफल हुने स्वाँरले बताए।
बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टीका भ्रातृ संस्थाका विधानका सम्बन्धमा समेत छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।