काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीसहित पूर्वी तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेकी छन्।
आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस कार्यक्रममा बोल्दै भण्डारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको आधार भएको बताइन्।
उनले वर्तमान संवेदनशील परिस्थितिमा अफवाह, घृणा र विभाजन फैलाउने प्रयासबाट टाढा रहन तथा सबै नागरिकलाई आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरिन्।
भण्डारीले भनिन्, “केही दिनयता सुनसरीसहित पूर्वी तराईका जिल्लाहरूमा देखिएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाले हामी सबैको गम्भीर ध्यानाकर्षण गराएको छ। यस्तो अवस्थामा संयमता अपनाउँदै अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहन र राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा कानूनी शासनलाई थप सुदृढ बनाउन सबैले जिम्मेवार भूमिका खेल्न आवश्यक छ।”
उनले स्वर्गीय तुल्सीलाल अमात्यले स्थापित गरेको सिद्धान्तनिष्ठ राजनीति, त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान र भावी पुस्ताका लागि सधैं प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिन्।
भण्डारीले लोकतन्त्र स्थापनाका लागि योगदान दिएका तुल्सीलाल अमात्यसहितका नेताहरूको आदर्श, मूल्य र विचारलाई आत्मसात गर्दै मुलुकलाई अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याइन्।