काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि भएको कालो मसी प्रहारको घटनाको कडा निन्दा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले असहमतिको अभिव्यक्ति हिंसा, दुर्व्यवहार वा अपमानजनक गतिविधिबाट नभई संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट हुनुपर्ने बताएका छन्।
‘प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ। असहमति भए त्यसको समाधान संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट खोज्नुपर्छ, हिंसा वा अपमानबाट होइन,’ उनले उल्लेख गरेका छन्।
बारा–४ बाट निर्वाचित सांसद पौडेलमाथि आइतबार कालो मसी प्रहार भएको थियो।
थापाले लोकतन्त्रमा विचार फरक हुन सक्ने र असहमति स्वाभाविक भए पनि कुनै व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा संलग्न हुने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।