काठमाडौं । नेपालमा हाल माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ । यसका कारण देशका केही स्थानमा आंशिक बदलीसँगै हल्का वर्षा भइरहेको छ ।
नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
त्यसैगरी, आज राति हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हल्का हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।