काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले वैदेशिक रोजगारीमा जाने नेपाली आप्रवासी कामदारको हकअधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताएकी छन् ।
आप्रवासी कामदारको एचआइभी एड्स तथा प्रजनन स्वास्थ्य सञ्जाल नेपालद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उनले आप्रवासी कामदारलाई कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्ने विषयमा तीन तहका सरकारबीच समन्वयको खाँचो रहेको बताइन् ।
वैदेशिक रोजगारीमा गएका कामदारको स्वास्थ्यावस्था, सामाजिक सुरक्षा, सीप विकास, तथा उद्धारका काम राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै सभापति बाँस्कोटाले आप्रवासी कामदारको हक, अधिकार र सुरक्षा सुनिश्चित गर्न सबै पक्षले एकीकृत रूपमा काम गर्नुपर्नेमा जोड दिइन् ।
उनले मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि प्रतिबद्धता व्यक्त गर्दै विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई उद्धार तथा सकुशल फिर्ताका लागि कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरिन् ।