
काठमाडौं, ८ चैत । पाकेट मारेर जम्मा गरिएका २७१ थान मोबाइलसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार साँझ ६ बजेतिर ठिमीबाट कोटेश्वर आउँदै गरेको सार्वजनिक बसमा सवार यात्रुको साथमा रहेको मोबाइल चोरी भएपछि अनुसन्धान गर्दा ठूलो मात्रामा मोबाइल र ल्यापटप बरामद गरेको हो ।
पाकेटमारको समूहले भक्तपुरको जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टेरमा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार मोबाइल रिपेयरिङ सेन्टरमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा विभिन्न कम्पनीका मोबाइल २७१, ट्याब ९ र ल्यापटप १५ वटा बरामद भएको हो ।
बरामद मोबाइलमध्ये १८ थान आइफोन छन् भने विभिन्न २५ कम्पनीका मोबाइलहरू फेला परेका छन् । प्रहरीले रिपेयरिङ सेन्टरका सञ्चालकसहित ७ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका ५ घर भई ललितपुर सानागाउँ बस्ने ३५ वर्षका प्रमोद परियार, काभ्रेको खानीखोला गाउँपालिका ५ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने २६ वर्षका गुनराज न्यौपाने, रौतहट, चन्द्रनिगाहपुर नगरपालिका १ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने ३० वर्षका हेमन्त राना मगर, दोलखाको सैलुङ गाउँपालिकाक ६ स्थायी घर भई हाल भक्तपुर जगाती बस्ने २८ वर्षका शम्भु विश्वकर्मा रहेका छन्।
यस्तै सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ११ स्थायी घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने २२ वर्षका राजेश चालिसे, दोलखाको कालिन्चोक गाउँपालिका ५ स्थायी घर भई हाल चाबहिल बस्ने २१ वर्षका सबिन पाण्डे र काठमाडौँ सिनामंगल स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षका प्रकाश कट्वाल रहेका छन्।
कुन कम्पनीका कति मोबाइल बरामद?
काठमाडौं प्रहरीले गत आर्थिक बर्ष २०७९/८० मा १६ सय ५०, २०८०/८१ मा ३ हजार २८ र ८१/८२ मा २२८८ वटा चोरीका मोवाइल फेला पारेर फिर्ता गरेको जनाएको छ । विगत डेढ महिनाको अवधिमामात्र ४८८ वटा मोबाइल फेला पारेर बुझाएको पनि प्रहरीले जनाएको छ ।