काठमाडौँ, ९ असोज । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधवार समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
नेपालले १-० गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो ।
नेपालको जितमा खेलको ५६औँ मिनेटमा कृष्णबहादुर आलेले र खेलको ८४औ मिनेटमा सुजल डंगोलले एक एक गोल गरेका थिए । यसअघि भुटानले खेलको ४३औँ मिनेटमा योन्टेन थारचेनको गोलले अग्रता लिएको थियो ।
यो जितपछि समूह बी बाट नेपाल उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । समूह बी बाट पाकिस्तान विजेता हुँदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भुटान भने समूह बी मा तेस्रो हुँदै बाहिरिएको छ ।
अब सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने छ भने पाकिस्तानले बङ्गलादेशको सामना गर्ने छ । सेमिफाइनल खेल शनिवार हुने छ ।