काठमाडौँ, ३ असोज । नेपाल आइसिसी विश्वकप लिग- २ अन्तर्गत ओमानविरुद्ध पनि पराजित भएको छ । जारी सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो ।
नेपालले दिएको २२१ रनको लक्ष्य पछाएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४१ रन बनाए भने कश्यप प्रजापतिले ३६, कप्तान हकिब इलियासले २९ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर गुलशन झाले सर्वाधिक ५ विकेट लिएका थिए भने किरण केसीले २ तथा सन्दीप लामिछाने र आरिफ सेखले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए भने गुलशन झाले ५३ तथा आरिस सेखले ३५ रन बनाएका थिए ।
जारी सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो । यस अघि क्यानडासँग नेपाल १०३ रनले पराजित भएको थियो । लिग-२ को अङ्क तालिकामा नेपालको ६ खेलमा २ अङ्क मात्र रहेको छ र सातौँ स्थानमा रहेको छ । त्यस्तै ओमानको भने ५ खेलमा५ अङ्क भएको छ र लिगमा छैटौँ स्थानमा रहेको छ ।