ढोरपाटन (बागलुङ), २९ भाद्र । बागलुङको ढोरपाटन-१ स्वामीचोकमा आज दिउँसो जीर्ण घर भत्काएर पुन:निर्माण गर्ने क्रममा अचानक घर भत्किँदा घरधनीको घटनास्थलमै निधन भएको छ भने ११ जना घाइते भएका छन् ।
निधन हुने व्यक्ति घरधनी अन्दाजी ५५ वर्षको को बेग बहादुर बि.क. रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले बताए ।
आज दिउँसो १४:३० बजेको समयमा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार नाजुक अवस्थामा रहेको घर भत्काउने क्रममा आफैँ भत्किँदा धेरै जनालाई च्यापेर घाइते बनाएको हो ।
उक्त घटनामा रुपन्देही बुटवल-९ बस्ने शंकर पन्थी, काठमाडौँ घर भएका सुगान्त पौडेल, ढोरपाटन-४ का खडक प्रसाद बि.क., इन्द्र रसाइली, कोपिला छन्त्याल, सुभ बुढामगर, ढोरपाटन १ बस्ने देबिसरा बि.क., कीथम कुमारी बि.क., बागलुङको तमानखोला -१ बस्ने कीखममाया घर्ती, टेक बहादुर बि.क र टेकमाया रसाइली घाइते भएका छन् ।
घाइतेमध्ये खड्क प्रसाद वि.क.को टाउकोमा चोट लागेको अवस्था मध्यम रहेको र अन्य घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ ।
घाइतेहरूलाई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ लगिएको डिएसपी यादवले जानकारी दिए ।