काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सम्झौताप्रति आपत्ति जनाउँदै सरकारसँग जवाफ मागेका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै रावलले नेपालका प्राथमिकताप्राप्त आयोजनामा भारतलाई प्राथमिकता दिने गरी सन् १९५० सँग सम्बन्धित प्रावधान पुनः ब्युँताइएको आरोप लगाए।
तालिम तथा प्रशिक्षणका नाममा भारतीय सुरक्षा निकायलाई नेपाल प्रहरीभित्र भूमिका दिने गरी सम्झौता भएको उनको दाबी छ।
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको राष्ट्रिय हित, सीमा विवाद र असमान सन्धिका विषयले प्राथमिकता नपाएको भन्दै उनले सरकारको आलोचना गरे। सत्ता स्वार्थका लागि विदेशी शक्तिसामु झुक्ने विगतको प्रवृत्ति पुनः दोहोरिएको उनको टिप्पणी थियो।
नेपालको देशभक्ति कुनै मुलुकको विरोधमा नभई आफ्नै राष्ट्रिय हितको संरक्षणमा केन्द्रित हुनुपर्ने रावलले बताए।
यस्तै, दुई पूर्वश्रममन्त्री पक्राउ परेको प्रसंग उठाउँदै उनले सोही विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पनि जोडिएको अवस्थामा उनीहरूमाथि किन कानुनी कारबाही अघि नबढाइएको भन्दै प्रश्न गरे।
कानुनको पालना, विधिसम्मत शासन सञ्चालन र नागरिकका मौलिक अधिकारको सम्मान नै सुशासनका आधार भएको उल्लेख गर्दै रावलले त्यसको सुनिश्चित गर्ने प्रमुख दायित्व प्रधानमन्त्री, सरकार र गृह मन्त्रालयको रहेको बताए।