रूपन्देही । नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार हुने सम्भावना बढेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको उक्त सहमतिलाई भैरहवा विमानस्थल सञ्चालनमा देखिँदै आएको हवाई मार्गसम्बन्धी अवरोध हटाउने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
सहमतिअनुसार काठमाडौँ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने प्रक्रिया अघि बढाइनेछ । यसअघि उक्त हवाई मार्गको सीमित प्रयोगका कारण भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन तथा अवतरणमा व्यावहारिक कठिनाइ हुँदै आएको थियो । दुईतर्फी सञ्चालनको व्यवस्था कार्यान्वयनमा आएपछि विमान कम्पनीलाई उडान सञ्चालनका थप विकल्प उपलब्ध हुने र अन्तरराष्ट्रिय उडान सहज हुने अपेक्षा गरिएको छ ।
यद्यपि, सहमतिलाई व्यवहारमा कार्यान्वयन गर्न प्राविधिक तयारी, उडान सञ्चालन प्रक्रिया र आवश्यक व्यवस्थापनका विषयमा थप काम गर्नुपर्नेछ । त्यसैले सहमति हुँदैमा तत्काल नियमित अन्तरराष्ट्रिय उडान सुरु हुने अवस्था भने नरहेको सरोकारवालाको भनाइ छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले हवाई मार्ग दुईतर्फी सञ्चालन गर्ने सहमतिलाई भैरहवा तथा समग्र लुम्बिनी क्षेत्रको आर्थिक विकासका लागि सकारात्मक उपलब्धि भएको बताए । अन्तरराष्ट्रिय उडान विस्तार हुनसके पर्यटन, उद्योग, व्यापार र होटल व्यवसायमा प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आए यस क्षेत्रको आर्थिक गतिविधि थप चलायमान हुने उनले अपेक्षा गरे ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष सागर अधिकारीले हवाई पहुँच विस्तारले लुम्बिनी आउने विदेशी पर्यटकको आवागमन सहज बनाउने बताए । भारतका विभिन्न सहरबाट पर्यटकलाई भैरहवा हुँदै लुम्बिनी भित्र्याउने सम्भावना बढ्ने उनको भनाइ छ । विमानस्थलको प्रभावकारी उपयोगका लागि उडान सेवा विस्तारसँगै पर्यटकीय प्याकेज र यातायात व्यवस्थापनलाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुरज घिमिरेले हवाई मार्ग विस्तारलाई लुम्बिनीको अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखे । बुद्धको जन्मस्थल लुम्बिनीलाई भारतका बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीजस्ता बौद्ध तीर्थस्थलसँग जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटनको विकास गर्न सकिने उनले बताए ।
भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार भए नेपाल आउने पर्यटकलाई लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक स्थलसम्म पुग्न सहज हुनेछ । यसले पर्यटन व्यवसायको विस्तारसँगै स्थानीय होटल, यातायात, कृषि तथा सेवा क्षेत्रमा रोजगारी र आम्दानीका अवसरसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्दा लुम्बिनीलाई अन्तरराष्ट्रिय हवाई सञ्जालसँग जोड्ने र विदेशी पर्यटकको आवागमन बढाउने लक्ष्य राखिएको थियो । तर, नियमित अन्तरराष्ट्रिय उडान सञ्चालनमा देखिएका विभिन्न चुनौतीका कारण विमानस्थलले अपेक्षाअनुसार गति लिन सकेको छैन ।
यस्तो अवस्थामा नेपाल र भारतबीच भएको पछिल्लो सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके भैरहवा विमानस्थलको उपयोगिता बढ्नुका साथै लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार र समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिएको छ ।