चितवन– पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडक विस्तारको तेस्रो प्याकेज मुग्लिन–मलेखु खण्डको निर्माण कार्य सम्झौता अवधि सकिएको एक वर्ष बितिसक्दा पनि आधा पूरा हुन सकेको छैन ।
२०७९ पुस १५ गते ठेक्का सम्झौता भएको उक्त सडकखण्डको निर्माण गत पुस १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, दुई पटक म्याद थप गर्दा पनि हालसम्म भौतिक प्रगति ४८ प्रतिशत हाराहारीमा मात्रै पुगेको छ । आयोजनाका अनुसार आर्थिक प्रगति भने ४६ प्रतिशत रहेको छ ।
आयोजनाको तेस्रो प्याकेजका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पहिलोपटक १८३ दिन र दोस्रोपटक २१० दिन म्याद थप गरिएको थियो । थपिएको दोस्रो अवधिमा पनि काम सम्पन्न हुने अवस्था नरहेकाले पुनः म्याद थप गर्नुपर्ने देखिएको छ ।
करिब ९५ किलोमिटर लामो नागढुङ्गा–मुग्लिन सडकलाई तीन प्याकेजमा विभाजन गरेर स्तरोन्नतिको काम अघि बढाइएको हो । पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन खण्ड समेटिएका छन् । तेस्रो प्याकेजअन्तर्गतको सडकको लम्बाइ ३८ दशमलव ८६ किलोमिटर छ ।
मिश्रका अनुसार हालसम्म १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । थप तीन किलोमिटरमा बेस राखेर कालोपत्रको तयारी गरिएको छ भने पाँच किलोमिटरमा सबबेस निर्माण गरिएको छ ।
उक्त खण्डमा निर्माण गर्नुपर्ने छ पुलमध्ये चार वटाको काम अन्तिम चरणमा पुगेको छ । बारवाङ, मौवा, गौमती र खटौती पुलमा सडकसँग जोडिने स्थानमा कालोपत्र गर्न मात्रै बाँकी रहेको मिश्रले बताए । बाँकी दुई पुल हुग्दी र चरौदीको पिल्लरसम्मको काम सम्पन्न भए पनि बिम र त्यसभन्दा माथिको संरचना निर्माण हुन बाँकी छ ।
त्यस्तै, कुरिनटार र मुग्लिनबीच केही स्थानमा भित्तो काट्ने तथा करिब तीन किलोमिटर नाला निर्माण गर्ने काम बाँकी छ । अन्य क्षेत्रमा पनि कालोपत्र गर्नुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ ।
सडक विस्तारका क्रममा घर, रूख तथा विद्युत् पोल स्थानान्तरण गर्नुपर्ने र नक्सांकनमा परिवर्तन हुँदा निर्माण प्रभावित भएको मिश्रको भनाइ छ । पछिल्लो समय यी समस्या समाधान भएकाले अब निर्माण कार्यले गति लिने अपेक्षा गरिएको उनले बताए ।
यसअघि निर्माण सामग्रीको अभाव र बिटुमिन (अलकत्रा) उपलब्ध हुन नसक्दा पनि काम प्रभावित भएको थियो ।
निर्माण कम्पनीका प्रतिनिधि सहदेव खड्काले समयमा निर्माणको नक्सा उपलब्ध नहुँदा आयोजना ढिलाइ भएको बताए । उनका अनुसार नक्सा परिवर्तन भएर ठेक्का सम्झौता भएको नौ महिनापछि मात्रै निर्माण कम्पनीले प्राप्त गरेको थियो ।
बाढीपहिरोका कारण पटकपटक नक्सा परिवर्तन गर्नुपरेको, सडक क्षेत्रमा रहेका घरटहरा हटाउन तथा विद्युत् पोल सार्न र रूख कटान गर्न समय लागेकाले निर्धारित अवधिमा काम सम्पन्न गर्न नसकिएको खड्काको भनाइ छ ।
समयमै नक्सा र आवश्यक निर्माण सामग्री उपलब्ध भए अबको एक वर्ष छ महिनाभित्र काम सम्पन्न गर्न सकिने उनले बताए । निर्माण सामग्री तथा अलकत्राको अभावले पनि कामको गति प्रभावित भएको उनको भनाइ छ ।
कुल चार अर्ब ८० करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी शर्मा–जेडआइसिजीले ठेक्का पाएको हो । विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सञ्चालित यो आयोजना राजधानी प्रवेश गर्ने र बाहिरिने सवारीसाधनको चाप व्यवस्थापनका दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
उक्त सडकखण्ड हुँदै दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्ने अनुमान छ । सडक स्तरोन्नति सम्पन्न भएपछि राजधानी आवतजावत गर्ने यात्रुले लामो समयदेखि भोग्दै आएको सास्ती कम हुने अपेक्षा गरिएको छ ।