पोखरा। पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा महानगरपालिकाले निर्माण गरेको ‘कोसेली घर’ सञ्चालनमा आएको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार आयोजित समारोहबीच कोसेली घरको उद्घाटन गरेका हुन्।
स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले निर्माण गरिएको कोसेली घरमा स्थानीयस्तरमा उत्पादित मौलिक सामग्रीको प्रदर्शन तथा बिक्री–वितरण गरिनेछ। पोखरा आउने पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको घरले स्थानीय हस्तकला तथा घरेलु उत्पादनलाई बजारसँग जोड्ने महानगरको विश्वास छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख आचार्यले स्थानीय मौलिक सामग्रीको प्रदर्शन र बिक्रीका लागि कोसेली घर साझा थलो बन्ने बताए। उनले यसबाट स्थानीय उत्पादनको प्रवद्र्धनसँगै उत्पादकलाई बजारको पहुँच बढ्ने अपेक्षा व्यक्त गरे।