पोखरा। पोखरा महानगरपालिका–५ मा अखाद्य वस्तु मिसाएर घरेलु मदिरा उत्पादन गर्न राखिएको १५ ड्रम कच्चा पदार्थ प्रहरीले बरामद गरी नष्ट गरेको छ।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले कोठा भाडामा लिएर बसेका वसन्त दुलामी र सपना लामिछानेको डेरामा खानतलासी गर्दा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानका अनुसार बरामद सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको छ। घरायसी प्रयोजन वा धार्मिक कार्यमा प्रसादका रूपमा परम्परागत घरेलु मदिराको प्रयोग सांस्कृतिक रूपमा स्वीकार्य भए पनि अखाद्य वस्तु मिसाएर व्यावसायिक उत्पादन तथा बिक्री–वितरण गर्नु कानुनविपरीत रहेको उनले बताए।
पोखरा–६ का वडाध्यक्ष विष्णु भट्टराईले यस्तो मदिरा बजारका विभिन्न रेस्टुरेन्टमा आपूर्ति हुने गरेको बताए। उनका अनुसार विषाक्त मदिराको सेवनले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर तथा दीर्घकालीन असर पार्न सक्ने भएकाले प्रहरीसँगको समन्वयमा सामग्री नष्ट गरिएको हो।
प्रहरीले सर्वसाधारणको स्वास्थ्यमा असर पार्ने गतिविधिविरुद्ध निगरानी र कारबाही थप तीव्र बनाउने जनाएको छ।