गोरखा, २७ भाद्र । बहुविवाह गरेर कतार जान लागेका एक व्यक्तिलाई प्रहरीले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
जिल्लाको आरुघाट-६ आप्रिक बस्ने वर्ष २८ को सुरज गुरुङले धार्चे गाउँपालिका घर बताउने कान्छी घोताने गुरुङसँग दोस्रो विवाह गरेपश्चात् कसुरबाट बच्नको लागि कतार जानै लाग्दा पक्राउ परेका छन् ।
घरमा श्रीमती हुँदाहुँदै गुरुङले दोस्रो विवाह गरेको भन्दै सुरज गुरुङका श्रीमती रिता गुरुङले भाद्र २३ गते जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दरखास्त दिएकी थिइन् ।
जाहेरी पाएपछि प्रहरीले बहुविवाह शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
गुरुङ विदेश जान लागेको सूचना पाएपछि तत्काल अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौँसँग समन्वय गरेर उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले बताए ।
श्रेष्ठले केटिएम दैनिकसँग भने, ‘२३ गते जाहेरी परेको थियो, २४ गते विदेश जान लागेको सूचना पाएपछि हामीले अध्यागमनसँग समन्वय गरेर सोही दिन उनलाई पक्राउ गरेका हौँ ।’
काठमाडौँबाट पक्राउ परेका गुरुङलाई बुधवार (हिजो) गोरखा लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका गुरुङउपर अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।