पोखरा, २७ भाद्र । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
कास्की अन्नपूर्ण गाउँपालिका-१ नौडाँडा घर भई हाल पोखरा-८ कुँवर टोलमा डेरा गरी बस्ने वर्ष ४२ को जहर सिंह कुँवरलाई श्रीमती हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिहीबार दिउँसो डेरामा श्रीमान् श्रीमतीबीच सामान्य विवाद हुँदा ४० वर्षीया श्रीमती राधिका कुँवरलाई धारिलो हतियार (खुकुरी) प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कुँवरलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले बाटोमै निधन भएको घोषणा गरेका थिए ।
घटनामा संलग्न जहर सिंह कुँवरलाई घटनामा प्रयोग भएको खुकुरी सहित पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जि.सिले केटिएम दैनिकलाई बताए ।
उनीउपर कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा दिन सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।