दमौली, १८ भाद्र । तनहुँ व्यास नगरपालिका- १० अधेरीभञ्ज्याङमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
स्थानीय मनभुजा कुमालको घरमा जुवा (तास) खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाटबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो ३:३० बजे उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी मनभुजा कुमालसहित स्थानीय टेक बहादुर बराम, मंगल बहादुर गुरुङ र बिर बहादुर बराम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जारी गरेको सूचनामा उल्लेख छ ।
उनीहरूको साथबाट ८० पत्ती तास र नगद रु ३३ हजार ५१० समेत बरामद गरिएको छ ।
पक्राउ पररेका व्यक्तिहरूउपर जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएको छ ।
जुवा खेल्दा के हुन्छ कारबाही ?
नेपालको कानुनले कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिवाल पाउने वा गुमाउने गरी खेलिने जुवालाई कसुर ठहर गरेको छ ।
पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुन्छ भने दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसुर मा पटकै पिच्छै थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था गरेको छ ।
कानुनले जुवा नखेली अरूको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत ‘जुवा’ ठहर गरेको छ ।