बागलुङ, २९ श्रावण । सुनका गहना चोरी गरेर फरार भएका व्यक्तिलाई बागलुङ प्रहरीले छ घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ ।
शनिवार साँझ बडिगाड-२ खरवाङ बस्ने नरमाया थापाको घरबाट एक अपरिचित व्यक्तिले सुनका विभिन्न गरगहना र नगद चोरी गरेर बेपत्ता भएका थिए ।
चोरी गरेर फरार भएका अभियुक्तको खोजीको लागि इलाका प्रहरी कार्यालय बुर्तिवाङ, गलकोट र प्रहरी चौकी खरवाङबाट सादा पोसाकमा प्रहरी परिचालन भएका थिए ।
सीसीटिभीको सहयोगमा ती व्यक्तिलाई बडिगाड-२ खरवाङ स्थित मध्यपहाडी लोकमार्गबाट शनिवार राती नै पक्राउ गरिएको बागलुङ प्रहरी प्रवक्ता डिएसपी विजय यादवले बताए ।
पक्राउ पर्ने व्यक्ति म्याग्दी जिल्लाको मालिका-३ बस्ने वर्ष २१ को किरण बि.क. हुन् । उनको साथबाट चोरी भएका चोरी भएका सुनको सिक्री, तिलहरी-२ थान, औँठी, छापे औँठी, बाला र नगद रु ५०० बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई चोरी सम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बागलुङ प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समुदायमा शङ्कास्पद तथा नौलो व्यक्ति वा समूह देखेमा तुरुन्त नजिकको प्रहरी कार्यालय तथा पैसा नलाग्ने नम्बर १०० मा फोन गरी सूचना दिनुसमेत प्रहरीले आम मानिसमा अनुरोध गरेको छ ।