बागलुङ, २४ श्रावण । मङ्गलवार पहिरोमा परेर बेपत्ता भएका चारजनामध्ये दुईजनाको शव फेला परेको हो ।
मङ्गलवार बिहान ११:२० बजे बडिगाड-१० आरुपाट भन्ने स्थानमा माथिबाट आएको पहिरोमा परेर घटनास्थलमै पाँच जना र उपचारको क्रममा एक जनाको निधन भएको थियो भने चार जना बेपत्ता भएका थिए ।
पहिरोमा परेर स्थानीय ७० वर्षकी मोति देवी कामी, सिर्जना वि.क.को ६ महिनाकी छोरी सिता वि.क., सात वर्षकी मालती बुढा, आठ वर्षको अमल बुढा र ११ वर्षकी सिता पुनको घटनास्थलमै निधन भएको थियो ।
पहिरोले घर गोठ बगाएका घरधनी जोग बहादुर बुढाको भने मंगलबार बेलुका १८:५० बजे निधन भएको हो ।
पहिरोमा पुरिएको आशङ्कामा तीन वटै सुरक्षा निकाय र स्थानीयको सहयोगमा खोजी गर्दा आज दुई जनाको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार पहिरोमा पुरिएका मध्ये सात वर्षकी मधु बुढाको शव आज बिहान ११:५५ मा फेला परेको हो भने दश वर्षका मनोज बुढाको शव दिउँसो ४:४५ बजे भेटिएको हो ।
पहिरोमा हराइरहेका तीन वर्षका आरुष थापा र ११ वर्षका यमलाल वि.क. को खोजतलास जारी रहेको डिएसपी यादवले बताए ।
उक्त पहिरोमा परेर दश जना घाइते भएका छन् । घाइतेमध्ये १९ वर्षकी रिमा पुन, ३१ बर्सिया सिता थापा र ४६ वर्षकी संगिता बुढाको बुधबार बिहान हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको छ भने अर्का एक जनाको पोखरास्थित मनिपाल अस्पतालमा उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले केटिएम दैनिकलाई बताए ।
उनले भने, ‘अन्य घाइतेहरूको प्राथमिक स्वास्थ्य चौकी बुर्तिबाङमा उपचार भइरहेको छ ।’