काठमाडौं, १३ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरण गरेका छन् ।
विहिबार राष्ट्रपतिले टीआरसी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
यसअघि बुधबार सभामुख देवराज घिमिरेले सो विधेयक प्रमाणित गरि राष्ट्रपतिसमक्ष पठाएका थिए ।
नेपालको संविधानको धारा ११३ ले संसदको दुवै सदनबाट पास भएर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि आएका विधेयकहरू १५ दिनभित्र प्रमाणीकरण गरेर त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिन भनेको छ ।
अब राजपत्रमा प्रकाशित भएपछि यो विधेयक ऐनको रुपमा लागु हुने छ ।