काठमाडौं, २१ भाद्र । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका (तीज) को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन् ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवम् पारिवारिक सद्भाव कायम होस् भन्दै राष्टपतिले शुभकामना दिएका हुन् ।
भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ । यस पर्वमा नेपाली नारीहरूले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ ।
शुभकामना सन्देशमा भनिएको छ, ‘समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निभाएको छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव‚ हिंसा एवम् सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु ।’
पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई न्यून गर्दै विकृति र विसंगतिलाई हटाउँदै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न पनि आवश्यक रहेको राष्ट्रपतिले बताएका छन् ।