काठमाडौं, २९ भाद्र । राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको बताएका छन् ।
राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना दिदै संविधानले गरेको मार्गदर्शन बमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका सम्बन्धी नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका राष्ट्रपति पौडेलले बताएका छन् ।
बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानूनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारीर गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकिकृत र समन्वयात्मक भूमिकाको अहम् दायित्व हुन आएको बताएका छन् ।
अझै पनि केही बालबालिकाहरू आफ्नो बालअधिकारबाट वंचित भएको कुरा सुन्नमा आएकोले बिभिन्न कारणहरूले बालबालिकामा पर्ने गम्भीर तथा बढ्दो असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी रहेको शुभकामना सन्देश उल्लेख छ ।
हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस धुमधामका साथ मनाइदैँ आइएको छ । यस वर्ष “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ बाल दिवस मनाइदै छ ।
बालबालिकाको लागि गरिने लगानी विकासको लागि गरिने लगानि भएको राष्ट्रपतिले बताएका छन् ।
शुभकामना सन्देशको अन्त्यमा भनिएको छ, ‘बालबालिकाको संरक्षण र विकासमा आ-आफ्नो तर्फबाट भूमिका निभाउन म सम्वद्ध सबै पक्षको ध्यान आकृष्ट गर्दै पुनः राष्ट्रिय बाल दिवस, २०८१ को शुभकामना व्यक्त गर्दछु ।’