काठमाडौँ, १० भाद्र । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा बंगलादेश पुगेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो सेमिफाइनलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पियन भारतलाई ४-३ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो ।
यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।
अब बंगलादेशले उपाधिका लागि नेपालको सामना गर्ने छ । नेपालले आइतबार पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
फाइनल खेल बुधवार हुँदै छ ।