काठमाडौँ, ९ भाद्र । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्नो सदस्य डिएआईमा मेम्बर लर्निङ सिरिज कार्यक्रम गरेको छ ।
एमच्यामले आफ्ना सदस्य संस्थाहरूसँग गर्ने नियमित कार्यक्रम अन्तर्गत बिहीबार डिएआईमा १२ औँ मेम्बर लर्निङ सिरिज कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा डिएआईकी नेपाल प्रतिनिधि निलु बस्न्यातले नेपालमा विपत्का कारण ठुलो धनजनको क्षति भइरहेकाले रोकथाम र न्यूनीकरणका लागि थप स्रोत र साधनको परिचालन गर्नुपर्नेमा जोड दिइन् । त्यसका लागि डिएआईले विपत् रोकथाम पूर्व तयारी, स्थानीयलाई तालिम, नीति निर्माण, जोखिम बीमा, जलवायु परिवर्तन सम्बन्धी सचेतना लगायतका कार्य गर्दै आएको उनले बताइन् ।
कार्यक्रममा डा. गोपाल तिवारीले युएसएआईडीले नेपालमा सञ्चालन गर्दै आएको तयार नेपाल परियोजनामा निजी क्षेत्रको योगदानबारे चर्चा गरे । परियोजनाले उद्यमशीलताका लागि अवसर सिर्जना गरेको तिवारीले बताए । यस परियोजनामार्फत ३५ भन्दा बढी व्यवसाय विस्तार भइसकेको छ, उनले भने । अहिले युएसएआईडीले उनीहरूलाई आवश्यक अन्य सहयोग समेत गरिरहेको छ ।
हरित व्यवसायलाई प्रवर्द्धन गर्दै आएको परियोजनाले करिब ७ सय जनालाई व्यवसाय निरन्तरता व्यवस्थापन तालिम समेत दिएको तिवारीले बताए । विपत् व्यवस्थापन र न्यूनीकरणको आवश्यकताबारे प्रस्तुतीकरण दिएका सुमन शाक्यले परियोजनापश्चात् स्थानीयमा विभिन्न परिवर्तन आएको बताए ।
डिएआई सन् २०१६ देखि नेपालमा सञ्चालनमा रही विभिन्न परियोजनाहरू मार्फत दिगो विकासका लक्ष्यहरूमा टेवा पुर्याउँदै आएको छ । संस्थाले नेपालसहित विभिन्न १ सय ५० भन्दा बढी मुलुकमा विपत् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
युएसएआईडी सँगको साझेदारी अन्तर्गतका तीन परियोजनाहरूले नेपालमा विपद् व्यवस्थापन, खानेपानीको स्रोत व्यवस्थापन तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
एमच्याम नेपालमा अमेरिकी लगानीका ५० भन्दा बढी व्यावसायिक संस्था आबद्ध छन् । स्थापनाको २ वर्षमै एमच्याम नेपालले युएस च्याम्बर्स अफ कमर्सको आबद्धता पाइसकेको छ ।
पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित संस्थाले नेपालका लागि वैदेशिक लगानी भित्राइ दुई देशबिचको व्यापारमा टेवा पुर्याउँदै आइरहेको छ ।
कार्यक्रमको समापनमा बोल्दै एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले एमच्याम मेम्बर्स लर्निङ सिरिज र एक्सपर्ट लर्निङ सिरिज अमेरिकाको काम गर्ने संस्कृतिलाई नेपालमा रूपान्तरण गर्ने उत्तम तरिका भएको बताए ।
उनले सदस्य तथा सरोकारवाला माझ गरिने यस्तो कार्यक्रम बढी अर्थपूर्ण र लाभमूलक हुने बताए । साथै व्यावसायिक एकीकरणलाई जोड दिन समेत यस्ता कार्यक्रमले भूमिका खेल्ने उनको भनाइ थियो ।
कार्यक्रममा एमच्याम नेपालका अमिर थापाले कार्यक्रममार्फत अमेरिकी लगानी, प्रविधि र प्रतिभाको रूपान्तरणमा एमच्याम नेपालको योगदानबारे बताए ।
कार्यक्रमले विश्वकै ठुलो अर्थतन्त्र अमेरिका र नेपालको उद्यमशील समुदायबिचको सहकार्यलाई प्रोत्साहन गरेको उनको भनाइ छ । थापाले नेपाल र अमेरिकाबिचको ७७ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउन यस कार्यक्रमले सहयोग पुर्याइरहेको बताए ।