कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आतंक मच्चाउँदै आएको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जीपीएस) जडान गरिने भएको छ ।
निकुञ्ज आसपासका बस्तीमा प्रवेश गरी मानवीय क्षति पुर्याउनुका साथै स्थानीयका घर, भान्सा र गोठ भत्काएर धनमालमा क्षति गर्न थालेपछि निकुञ्ज प्रशासनले हात्तीमा रेडियो कलर जडान गर्ने तयारी गरेको हो । यसका लागि चितवनबाट रेडियो कलर मगाइएको छ, जुन शनिबार साँझ शुक्लाफाँटा आइपुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
उनका अनुसार केही दिनभित्रै प्राविधिक टोलीको सहयोगमा हात्तीलाई बेहोस बनाएर रेडियो कलर जडान गरिनेछ । रेडियो कलर जडानपछि हात्तीको गतिविधि र अवस्थिति निगरानी गर्न सहज हुने तथा बस्तीमा प्रवेश गरी थप क्षति पुर्याउनबाट रोक्न सकिने अपेक्षा गरिएको छ ।
यसअघि उक्त हात्तीले लालझाडीको ढक्का र भीमदत्त नगरपालिकाको बनकट्टीमा गरी दुई जनाको ज्यान लिइसकेको छ । पछिल्लो समय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंह दल गणले सुरक्षा सक्रियता बढाएपछि भने हात्तीबाट मानवीय क्षति हुन पाएको छैन ।
प्रमुख संरक्षण अधिकृत अर्यालले जनधनको क्षति पुर्याउन थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक हात्तीमा रेडियो कलर जडान गर्न लागिएको बताए ।
“प्राविधिक टोलीसँग छलफल गरेर हात्तीको अवस्थिति पहिचान गरी बेहोस बनाएर रेडियो कलर जडान गर्नेछौँ”, उनले भने ।
यसअघि पाटेबाघ र गैँडाको गणनाका क्रममा रेडियो कलर जडान गरिँदै आए पनि मानवीय तथा भौतिक क्षति पुर्याउने हात्तीको निगरानीका लागि भने पहिलोपटक यस्तो प्रविधि प्रयोग गर्न लागिएको हो । स्थानीयले पुच्छर नभएकाले उक्त हात्तीको नाम ‘लिणे’ राखेका हुन् ।