काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारका पछिल्ला गतिविधिमाथि गम्भीर प्रश्न उठाउँदै कार्यशैली सुधार गर्न आग्रह गरेका छन् ।
आइतबार पार्टी कार्यालयमा पदाधिकारीहरूसँगको छलफलपछि विशेष सम्बोधन गर्दै थापाले प्रहरीको कार्यशैली, अभिव्यक्ति स्वतन्त्रता, सरकारको जवाफदेहिता, अनुसन्धानको निष्पक्षता र राज्यका निकायहरूको स्वायत्ततामाथि चिन्ता व्यक्त गरेका हुन् ।
उनले सरकारले प्राप्त गरेको पाँच वर्षको जनादेशलाई प्रतिपक्षी र नागरिकलाई डर देखाएर शासन गर्ने अनुमतिका रूपमा लिन नहुने स्पष्ट पारे । सरकारका गतिविधिमा अधिकार र शक्तिको स्वेच्छाचारी प्रयोग देखिएको भन्दै उनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सरकारका राम्रा तथा नराम्रा दुवै कामको जिम्मेवारी लिनुपर्ने बताए ।
थापाले सरकारलाई मुख्यतः पाँच विषयमा आफ्नो धारणा स्पष्ट पार्न र कार्यशैली सुधार्न आग्रह गरेका छन् ।
१. व्यक्तिको इच्छालाई कानुन नमानियोस्, स्वेच्छाचारिता अन्त्य गरियोस्
थापाले सरकारका पछिल्ला गतिविधिमा शक्तिको दुरुपयोग र स्वेच्छाचारी प्रवृत्ति देखिएको आरोप लगाए । सञ्चारमाध्यम र पत्रकारमाथि भएका गतिविधिले सरकारको अधिकार प्रयोग गर्ने शैली तथा अभिव्यक्ति स्वतन्त्रताप्रतिको दृष्टिकोणमाथि प्रश्न खडा गरेको उनको भनाइ छ ।
‘केही सानो समूहले ‘वी आर द स्टेट’ भन्न थाले। शक्तिको स्वेच्छाचारी प्रयोग भयो। सरकारमा बसेका मान्छेहरूलाई आफ्नो इच्छा नै कानुन हो भन्न थालियो। यो प्रवृत्ति जस्तो देखियो। यसले हद नाघेको छ,’ उनले भने ।
पत्रकार पक्राउ परेको र पछि रिहा भएको घटनालाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै उनले यसले सरकार र प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताए ।
२. रास्वपाको वक्तव्य होइन, सरकारको जवाफदेहिता चाहियो
सरकारका गतिविधिबारे प्रश्न उठ्दा सत्तारूढ दल रास्वपाले वक्तव्य जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने थापाको भनाइ छ ।
यसअघि सञ्चारमाध्यमको गेटमा गाडी पार्क गरिएको घटनामा पनि रास्वपाले वक्तव्य जारी गरेको स्मरण गराउँदै उनले त्यसपछि के कारबाही भयो भन्ने प्रश्न गरे ।
‘हामीलाई रास्वपाको वक्तव्य होइन, परिणाम चाहियो,’ उनले भने ।
सरकारका कामकारबाहीप्रति प्रश्न उठेमा रास्वपाले संसदीय दलमार्फत प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्ने उनको धारणा छ । पार्टीको धारणा सार्वजनिक गर्नु मात्रै नभई गल्तीमा ठोस जवाफदेहिता देखाउनुपर्ने उनले बताए ।
३. सरकारका राम्रा र नराम्रा दुवै कामको जिम्मेवारी रास्वपाले लेओस्
थापाले सरकार र सत्तारूढ दलबीचको जिम्मेवारी बाँडफाँटमा दोहोरो मापदण्ड देखिएको भन्दै प्रश्न उठाए ।
विगतमा कांग्रेस नेतृत्वको सरकारका गलत कामको विरोध गर्दा रास्वपाले सरकार कांग्रेसको भएकाले जिम्मेवारी पनि कांग्रेसले नै लिनुपर्ने बताउने गरेको उनले स्मरण गराए ।
अहिले आफ्नै नेतृत्वमा सरकार हुँदा पनि रास्वपाले यही सिद्धान्त लागू गर्नुपर्ने उनको भनाइ छ ।
सरकारले गरेका राम्रा कामको श्रेय सिंगो रास्वपाले लिने तर कमजोरी र गलत कामको जवाफ प्रधानमन्त्रीले मात्रै दिनुपर्ने प्रवृत्ति स्वीकार्य नहुने उनले बताए । सरकारका सबै कामको स्वामित्व सत्तारूढ दलले लिनुपर्ने थापाको धारणा छ ।
४. सबै काण्डको निष्पक्ष अनुसन्धान होस्, छनोटका आधारमा छानबिन नगरियोस्
सरकारले विभिन्न काण्ड तथा प्रकरणको अनुसन्धान गर्ने प्रतिबद्धता जनाए पनि त्यसको निष्पक्षतामाथि थापाले आशङ्का व्यक्त गरे ।
सार्वजनिक भएका सबै प्रकरणको गहिराइसम्म पुगेर अनुसन्धान गर्नुपर्ने र त्यसमा कांग्रेसको समर्थन रहने उनले बताए । तर, जनताको प्रतिक्रिया हेरेर मात्रै अनुसन्धान अघि बढाउने वा केही निश्चित घटनालाई प्राथमिकता दिने प्रवृत्ति उचित नहुने उनको भनाइ छ ।
‘काण्ड र प्रकरणहरू सार्वजनिक भएका छन्, सबै केलाइयोस्। हाम्रो साथ–समर्थन रहन्छ। तर हाम्रो प्रश्न छ– अनुसन्धान निष्पक्ष हुन्छ ? सेलेक्टिभ भइरहेको छ। केही बाहिरिन्छ अनि पब्लिक प्रतिक्रिया के आउँछ भनेर हेरिन्छ। अनि कसरी निष्पक्ष हुन्छ ?’ उनले प्रश्न गरे ।
अनुसन्धान प्रतिशोधपूर्ण वा राजनीतिक स्वार्थबाट निर्देशित हुन नहुने भन्दै उनले दोषी देखिएकालाई कानुनअनुसार कारबाही गर्नुपर्नेमा जोड दिए ।
५. प्रधानमन्त्रीभन्दा राज्यका संस्थाहरू बलिया बनाइयोस्
थापाले सरकारको प्राथमिकता व्यक्तिकेन्द्रित शक्ति विस्तार नभई राज्यका संस्थाहरूलाई बलियो बनाउने हुनुपर्ने बताए ।
प्रहरी, निजामती प्रशासन, न्यायपालिका र संवैधानिक निकायको स्वतन्त्रता तथा स्वायत्तता कायम राख्नु सरकारको दायित्व भएको उनको भनाइ छ ।
कर्मचारी र व्यवसायीमा अनिश्चितता तथा त्रासको वातावरण रहेको उल्लेख गर्दै उनले सरकारले अर्थतन्त्रमा विश्वासको वातावरण सिर्जना गर्नुपर्ने बताए ।
‘हामीले बलियो सरकार बनेको भनेको प्रधानमन्त्री बलियो होइन, संस्थाहरू बलियो बनाउने हो,’ उनले भने ।
उनले न्यायपालिका र संवैधानिक निकायको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्ने तथा सरकारको ध्यान विपद् व्यवस्थापन र आर्थिक अवस्थाको सुधारमा केन्द्रित हुनुपर्ने धारणा राखे ।
थापाले रास्वपाले पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश पाएको कुरालाई कांग्रेसले सम्मान गर्ने बताए । तर, त्यसको अर्थ प्रतिपक्षलाई डर देखाएर शासन गर्न पाउने छुट नभएको उनको भनाइ छ ।
सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु र जवाफ माग्नु प्रतिपक्षको जिम्मेवारी भएको उल्लेख गर्दै उनले नागरिक समाज तथा नयाँ पुस्तासँग संवाद र सहकार्यको प्रस्तावसमेत अघि सारे ।
उनले कानुनको सीमाभित्र रहेर अधिकार प्रयोग गर्न, गल्तीमा जवाफदेही बन्न, अनुसन्धान निष्पक्ष बनाउन र राज्यका संस्थाहरूको स्वायत्तता कायम राख्न सरकारलाई आग्रह गरेका छन् ।