काठमाडौं । न्यायपालिकाभित्र भ्रष्टाचार र ‘सेटिङ’ भइरहेको आरोप लगाउँदै स्वतन्त्र नागरिक अभियानले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
हालै चर्चामा रहेको इनाम सापकोटा प्रकरणलाई आधार बनाउँदै प्रदर्शनकारीले न्यायालयको स्वच्छता र पारदर्शिता कायम गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्न माग गरेका छन् ।
प्रदर्शनमा सहभागी पूर्वराजदूत डा. निर्मल विश्वकर्माले न्यायालयभित्र सेटिङका माध्यमबाट न्याय किनबेच भइरहेको आशंका व्यक्त गरे ।
अभियानले न्यायाधीशहरूको कार्यशैलीमाथि प्रश्न उठाउँदै भ्रष्टाचारमा संलग्न न्यायिक अधिकारीहरूलाई तत्काल छानबिनको दायरामा ल्याउन माग गरेको छ । न्यायालयलाई स्वच्छ, स्वतन्त्र र जनउत्तरदायी बनाउन स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिँदै अभियानले आम नागरिकले सहज र निष्पक्ष न्याय पाउने वातावरण नबनेसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।