काठमाडौं, ८ भाद्र । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शेफ नेपालको टिम र विजेताहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।
राजदूत भोल्कले नेपालमा आफ्नो कार्यकालको अन्तिम दिन शेफ नेपाल टिमलाई भेटी बिजेता तथा उप-बिजेताहरुलाई शुभ-कामना दिएकी हुन् ।
कान्तिपुर टिभीबाट प्रसारण भएको नेपालको पहिलो फुड रियालिटी शो शेफ नेपालको सिजन एक केही समय अघि मात्र समाप्त भएको थियो । लामो समय लगाएर सकिएको शोले अहिले बिजेता तथा उप-बिजेता पाएको छ ।
नेपालको पहिलो फुड रियलिटी शोको पहिलो बिजेता बनेका उदयपुरका आजुइहङ राइ भने राजदूतसँगको भेटमा उपस्थिति थिएनन् । राजदूतसँगको भेटमा शेफ नेपाल टिभी शो को पहिलो रनरअप बिकेश मानन्धर र दोस्रो रनर-अप इङ्वा सुब्बा सहित शेफ नेपालका निर्माता धर्मराज पाण्डे उपस्थित थिए ।
राजदूत भोल्कले सेफ नेपालको रियालिटी शोमा विजेता तथा उपविजेता बन्नु निकै राम्रो कुरा भएको बताएकी छन् । उनले उपविजेताहरुको उज्ज्वल भविष्यको समेत कामना गरिन् ।
शोको १४ औं भागमा आफू गेष्टको रुपमा आउँदा खुशी लागेको र त्यो अनुभव अत्यन्तै रोमान्चक रहेको भोल्कले सुनाइन् ।
शेफ नेपालको विजेता तथा उपविजेताहरूलाई समेटेर कुकिङ शोको तयारी गरिरहेको निर्माता पाण्डेले जानकारी गराए ।
राजदूत भोल्क आफ्नो कार्यकाल सकेर आगामी सोमबार अष्ट्रेलिया फर्कँदै छिन् ।