काठमाडौँ, ४ भाद्र। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौँको सोल्टी होटेलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेपाल प्रिमियम लिगको लोगो सार्वजनिक गर्दै भने, ‘क्रिकेट रंगशालाहरू बनाउनको लागि प्राथमिकतामा राखेर धमाधम काम अगाडि बढाएको छु। धनगढी क्रिकेट रंगशाला, चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालगायतका खेल पूर्वाधारहरू मेरै पालामा सुरु गर्छु।’
उनले क्रिकेटका लागि धनगढीमा बन्न लागेको क्रिकेट रंगशाला सभ्य र भव्य रूपमा निर्माण हुनेमा विश्वाससमेत दिलाए ।
मन्त्री चौधरीले नेपालका मुख्य सहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणालीमा खेलिने क्रिकेट संघको उद्देश्य एकदमै सराहनीय रहेको भन्दै स्थानीय स्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए ।
‘अब नेपालका मुख्य सहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणाली ल्याउने क्यानको उद्देश्य सराहनीय छ,’ उनले भने, ‘यसबाट स्थानीय स्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्छ। यो क्रिकेटको दीर्घकालीन विकासका लागि उत्तम हुन्छ।’
नेपाली क्रिकेटले भविष्यमा पर्यटन, अर्थतन्त्र र रोजगारीलाई ठुलो टेवा पुग्नेमा उनको जोड थियो ।
टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियम लिग आगामी मंसिर १५ गतेदेखि हुँदै छ । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुससम्म चल्नेछ ।
गत वर्ष पनि आयोजना भएको एनपीएल विवादमा रहेको भए पनि यस वर्ष नयाँ फ़्रेन्चाइजी मोडलमा सञ्चालन गर्न लागेको क्यानले जानकारी दिएको छ ।